Utpaadanmukhi Sajha Aandolan

(छलफलको निम्ति)

उत्पादनमुखी साझा आन्दोलनः आत्मनिर्भर अर्थतंत्र,  क्रान्तिकारी भूमिसुधार, जनवर्ग बीचको संयुक्त मोर्चा, जनसत्ता र नयां जनवादी राजनीतिक क्रान्तिको आधार
By Dr. Shambhu Kattel

१. साझा आन्दोलनको औचित्य:

१.१ नेपालका प्रायः बस्तीहरु आफ्ना आबश्यकताका सबैजसो चीजहरु बाहिरबाट किनेर ल्याउंछन्। बाहिर पठाएर आम्दानी चीजहरु धेरै कम छ। जे उब्जन्छ त्यो पनि कौडीको भाउमा जान्छ, बिचौलियाहरुले आफू र बाहिरियाहरुलाई पोष्छन्।बाहिरी वा बिदेशी चीजहरु अनियंत्रित हिसाबले आएकोले स्थानीय वस्तुले बजार नपाएर प्रोत्साहन पाएको छैन।बस्तीहरुले बिचौलिया, कालाबजारी, बैंकहरु, सरकारी करहरु, कर्मचारीहरु पाल्ने आदि सबै बोझहरु खेप्न परेको छ। यी सबैले बस्तीहरु खोक्रिएका छन्, गरीवि बढेका छन्, परनिर्भर बन्दै गएका छन् र यसले बेरोजगारी, युवा पलायन, आपसी फूट, शक्तिपूजा, बिदेशीमा भर पर्नु पर्ने प्रबिधि र मोडेलका आयात र हस्तक्षेपहरु बढाएको छ। यी समस्या वा शोषणहरु टिकाउंदा फाइदा पाउने वर्ग र त्यसको प्रतिनिधि राज्यसत्ता यो समस्या फुकाउने तर्फ नलाग्ने हुंदा बस्तीहरुले आफ्नो सुरक्षा आफैले गर्न पर्ने भएको छ र सचेत नागरिकहरुले यसलाई भरथेग गर्न पर्ने भएको छ।

१.२ बस्तीहरुमा कति श्रोत र तागत हुन्छ भन्ने कुरा बिगतका आन्दोलनहरुले र बस्तीहरुका स्थानीय सहकारीहरुले छोटै समयमा अरबौंको कोष बनाउन सफल भएकोबाट पनि देखिन्छ। वीना श्रोत ती बस्तीहरुले बैंकहरुलाई नाफा कमाइदिने, सरकारलाई कर उठाइदिने, नेता र कर्मचारीहरु /निजी स्कूल/अस्पताल/म्यानपावर/मोबाइल व्यापारी/गाडी व्यापारी/काला बजारी/बिचौलियाहरु/ठेकेदारहरुको खल्ती भरिदिने गर्न सक्दैनथे। यसरी बाहिरिने श्रोत एकठ्ठा गर्दा अपार श्रोत बन्ने कुरा प्रष्ट छ। स्थानीय स्तरमा उत्पादन ब्रिध्दि हुनुका साथै श्रोतहरुको संचय र व्यवस्थापन बढनाले आत्मनिर्भर अर्थतंत्रमा बलियो टेवा पुग्ने कुरा पनि प्रष्ट छ।

१.३ आज भूमिहीन किसान जनशक्तिको उत्पादकत्व भूमिहीनताले गर्दा ज्यादै न्युन छ। साझा उत्पादन आन्दोलनले क्रिषीयोग्य भूमिहरु भूमिहीन किसान, अर्ध्दभूमिहीन किसान, तथा निम्न वर्गीय किसानलाई जोड दिएर उनिहरुद्वारा उत्पादन(भोगचलन) गरिने हुंदा भूमिहीनता, जमीनको बिक्री र जमीन बिदेशीको हातमा जाने समस्या हल गर्न सहयोगी हुन्छ। 

१.४ जन एकता वा परिचालनको क्षेत्रमा पनि परिवर्तनप्रेमी राजनीतिक पार्टीहरु जे जति एकताका कुरा गरिरहेका छन्, त्यो पार्टी एकतामा सीमित छ, जनवर्गहरु बीचको संयुक्त मोर्चा बनाउन असफल छन्। प्रायः पार्टी वा तिनका नेताहरुमा जनवर्गहरुको व्यापक मोर्चा जस्तो राष्ट्रिय द्रिष्टिकोण भन्दा आफ्नो निजी नाम र आयश्रोतमा बढी ध्यान गएर आन्दोलन उठाउनमा भन्दा जनवर्गहरुलाई आफ्नो दल वा गूटमा वा गूटका भाकामा तान्न बढी जोड गर्नाले, प्रमुख नेताहरु जनतामा र सडकमा नजानाले, जनवर्गलाई तताउने नाराको पहिचानको पनि अभाव रहेकोले, जे जति गर्न खोजिएका संघर्षहरु पनि केन्द्रमुखी (स्थानीय बिषयहरुको संबोधनको अभाव) र, सबैभन्दा चर्को रुपमा, जनवर्गहरुलाई जोड्ने त्यान्द्रो वा glue (नारा, मंच वा संगठन)को अभावले गर्दा स्थानीय साथै केन्द्रीय स्तरमा जनसंघर्ष उठ्न नसकेको अवस्थामा उत्पादनमुखी साझा कार्यले सो त्यान्द्रोको काम दिन सक्दछ किनकि उत्पादनको काम अहिले सामुदायिक वन संरक्षण, दुध उत्पादन आदिमा संबन्धित सबै जनता संलग्न भए जस्तै सबै जनता सहभागी हुन सक्ने काम हो; राज्यले स्वावलम्बी उत्पादन कार्य बिरुध्द काम गरिरहेको हालको अवस्थामा साझा उत्पादकहरु राज्यको नीति र व्यवहार बिरुध्द उभिने र त्यसले जनसंघर्षको उठान गर्ने हुन्छ।

१.५ समुच्च बस्ती वा समुदायलाई स्वावलम्बी बनाई बाह्य शोषण घटाउने साझा आन्दोलन जस्तो काम उत्पादन कार्यमा मात्र सीमित हुदैन। यसले समुदायका बिसंगति, कुसंस्क्रिति, होचीअर्गेली, अन्याय, आदि हटाउने काम गर्न पनि प्रयास गर्दछ। यो काम गर्नका लागि यसले जनचेतना उठाउने काम, बस्ती सुधार उपसमितिहरु बनाउने, जन कचहरिहरु बोलाएर अन्यायमा परेकाहरुलाई सामुदायिक इन्साफका दिलाउने, अन्यायमा परेकाहरुलाई पालिकाहरु, प्रहरि, अदालती सेवा उपलब्ध गराउन सहजकर्ताको भूमिका खेल्ने आदि काम गरेर समुदायको नेत्रित्व पनि गर्दछन्। समुदायका सदस्यहरुलाई मौलिक हकहरु दिलाउने, राज्यको गैरजिम्मेवारीपूर्ण वा अन्यायपूर्ण कामहरुसंग जुध्ने र समुदायको समुच्च हितको नेत्रित्व गर्ने कामबाट साझा आन्दोलनले स्थानीय स्तर देखिनै राजनीतिक नेत्रित्व पनि हासिल गर्दछ र यसले क्रमशः अनौपचारिक बिद्रोही जनसत्ताको रुप पनि लिदै जान्छ।यसको विस्तारले देशव्यापी रुप लिने, आन्दोलनको उठान, नेत्रित्व र राजनैतिक बिद्रोह गराउने र बिद्रोह पछि संयुक्त सरकारको भूमिका खेल्ने पनि गर्दछ।

२. उत्पादनमुखी साझा आन्दोलनको दिशाः

उत्पादनमुखी साझा आन्दोलन क्रिषी उत्पादक समुदाय, औद्योगिक उत्पादक समुदाय, सेवा प्रदायक समुदाय, सुरक्षा प्रदायक समुदाय जस्ता सबै क्षेत्रमा परिबेश सुहाउदो ढंगले परिमार्जन गरी लागू गर्न सकिन्छ वा लागू गर्न  पर्छ।

२.१ उत्पादनमुखी साझा आन्दोलन आर्थिक उत्पादन आन्दोलन मात्र नभएर यो जनताको व्यापक संयुक्त मोर्चा र जनसत्ता निर्माण गर्ने क्रान्तिकारी राजनीतिक काम पनि हो।

२.२ आर्थिक क्षेत्रमा यो साझा उत्पादन आन्दोलन सहकारी वा सामूहिक उत्पादन तथा व्यवस्थापन पध्दति मार्फत स्थानीय श्रोत परिचालन, जनबैंक निर्माण, उत्पादन र बजार अभिब्रिध्दि, रोजगारी ब्रिध्दि, जनजीविकामा अभिब्रिध्दि लगायतका आर्थिक संम्रिध्दि र स्वावलम्बी/आत्मनिर्भर अर्थतंत्रको आधार तयार गर्ने आन्दोलन हो। 

२.३ उत्पादनमुखी साझा आन्दोलनले आत्मनिर्भर अर्थतंत्रको विकास मार्फत यसले बिदेशी वा साम्राज्यवादी शोषण घटाउंछ साथै हटाउंछ।

२.४ उत्पादनमुखी साझा आन्दोलन जनसंघर्षको आधारभूमि हो। उत्पादकहरुले एकातिर संगठित रुपमा स्थानीय बिसंगति, अन्याय आदिको बिरोध गर्दछन् भने उनिहरु उत्पादन, बजार, उपजको मूल्य संग प्रतिकूल रहेका केन्द्रीय नीतिहरुको बिरुध्द पनि संघर्ष गर्दछन्। यसरी यसले जनआन्दोलनको उठान र नेत्रित्व गर्दछ।

२.५ यो सामाजिक न्याय आन्दोलन पनि हो किनकि यसले हरेक बस्तीहरुका सबैलाई वीना भेदभाव उत्पादन र समाजिक जीवनमा समेट्दछ, जमीन लगायतका साधनश्रोतहरुमाथि धनाढ्यहरुको सिन्डीकेट र भूमिहीन किसान जस्ता गरीबतम तहलाई पर राख्ने परिपाटी बिरुध्द साधनश्रोतहरुको सामुदायिक उपभोग र व्यवस्थापन बढाउंछ। शोषित उत्पीडित वर्ग आफै यो आन्दोलनको प्रमुख सहभागी र नेत्रित्व हुने भएकोले उनिहरुमाथिको शोषण उत्पीडन घट्ने वा हट्ने संभावना अत्यधिक रहन्छ। 

२.६ यो जनवादको अभ्यास गर्ने आन्दोलन पनि हो।यसले बिभेद रहित तरीकाले सबै बासिन्दाहरुलाई समेट्नुका साथै चुनावी तरीकाले संचालक र नेत्रित्वको छनौट, वास्तविक बहुमत पाउनेलाई मात्र निर्वाचित मान्ने, निर्वाचित प्रतिनिधिहरुले आफ्नो स्वविवेक प्रयोग गर्ने वातावरण दिन अनाबश्यक ह्वीप प्रणालिको अन्त्य, गलत गर्नेलाई सफाइ र फीर्ता बोलाउने व्यवस्था, आर्थिक रुपले कमजोर वर्गको बहुमत बनाउन त्यो वर्गलाई थप प्रतिनिधि पठाउने (कोटा) व्यवस्था आदि गर्नेछ।

२.७ उत्पादनमुखी साझा आन्दोलन समाजवादको पूर्वाधार खडा गर्ने कार्यक्रम पनि हो। यसले व्यक्तिगत भन्दा सामूहिक उत्पादन र बजार व्यवस्थापनमा जोड गरेर सामाजिक भावना बढाउंछ, प्राक्रितिक साधन जस्तै जमीन लगायतका साधन श्रोतहरुलाई सामुदायिक उपभोगमा ल्याई आर्थिक संरचनालाई सामाजीकरण गराउंछ, उत्पादनका साधनहरुको स्वामित्वलाई क्रमशः सामाजिक बनाउन भौतिक र मनोवैज्ञानिक आधार निर्माण गर्दछ र उत्पादनका फलहरुमा उत्पादकहरुको भोग र हकलाई बढाउंछ।

३. बस्ती स्तरमा उत्पादनमुखी साझा आन्दोलन सुरु गर्ने प्रस्तावित तरीकाहरुः

३.१ उत्पादनमुखी साझा आन्दोलनवारे सचेतना फैलाउने काम सुरुको प्रमुख काम हुनेछ। सुरुमा उत्पादन योजनाबाट सुरु गर्नु राम्रो हुन्छ। परम्परागत रुपमा परिवारहरुले आआफ्नै तरीकाले गर्ने उत्पादन भन्दा परिवारहरुले सामूहिक तरीकाले उत्पादन गर्दा परिवारहरुलाई के फाइदा हुन्छ, समाजलाई के फाइदा हुन्छ, यो साझा आन्दोलनको लक्ष्य के हो भन्ने कुराहरु बुझाउनु पर्ने हुन्छ। सानो स्तरको र हरेक परिवारले एक्ला एक्लै गर्ने उत्पादन गर्दा आइपर्ने अप्ठ्याराहरु (जस्तै जनशक्ति, साधनश्रोत र विज्ञता नपुग्ने, सरकारी लगायतका बाहिरी सहयोग जुटाउनमा कठिनाइ, बजार लैजान र भाउ पाउनमा कठिनाइ,  ब्यापारीलाई चाहिने जति मात्रा -economy of scale—नपुग्नाले बजार नपाउने समस्या, बालीनालीमा रोग कीराले दुख दिने समस्या, …) र सामूहिक तरीकाको उत्पादनको तुलनात्मक फाइदा वारे बुझाउनमा ध्यान दिनु पर्ने हुन्छ। यसलाई जटील बनाएर हैन सरल रुपमा (जस्तै अरु कुराहरु पहिले जस्तै हुन्छ, यसमा थप कुरा भनेको छरछिमेकका धेरै परिवारहरुले सल्लाह गरेर के व्यवसाय गर्ने कसले के गर्ने कसरी गर्ने आदि योजना बनाएर गरिन्छ) प्रस्तुत गर्नु बेश हुन्छ।

३.२ योजना बनाउंदा बनाएको योजना लागू गर्न समुदायका सकेसम्म कुनै परिवारलाई पनि नछोडीकन सबैलाई चित्त बुझ्नेगरी सबै आर्थिक र सामाजिक समूहहरुलाई समेट्ने गरी समाबेशी तरीकाले मूल समिति र आबश्यक उपसमितिहरु (जस्तै उत्पादन उपसमिति, बजार उपसमिति, आन्तरिक श्रोत संकलन र बांडफांड उपसमिति, पालिकाहरु र सरकारबाट सहुलियत जुटाउने उपसमिति, सामुदायिक सुधार उपसमिति, आदि) बनाएर के गर्ने, किन गर्ने, कहिले गर्ने, कसले गर्ने, कसरी गर्ने, के भएमा सो काम सफल भएको मान्ने, यो कामको अनुगमन मूल्यांकन कसरी गर्ने आदिको लागि जिम्मा बांड्नु पर्ने हुन्छ।

३.३ उपसमितिहरुले पनि छोटो उपयोजना बनाउनु राम्रो हुन्छ। जस्तै उत्पादन उपसमितिले के उत्पादन गर्ने, कति उत्पादन गर्ने, कहिले उत्पादन गर्ने, कुन कारखाना, कुन औजार, कुन जमीनबाट उत्पादन गर्ने, आदि वारे उपयोजना बनाउंदा अरु उपसमितिका ( जस्तै बजार उपसमिति, पालिकाहरु र सरकारबाट सहुलियत जुटाउने उपसमिति, सामुदायिक सुधार उपसमिति, आदि) संयोजकहरुको पनि लिनु बेश हुन्छ। बजार उपसमितिले बजार लाने चीज कति उत्पादन हुदैछ, कस्तो गुणस्तरको उत्पादन हुदैछ, कहिले हुदैछ, लागत खर्च कति लाग्दैछ, कति मूल्य राख्न बेश हुन्छ, त्यो मूल्य कहां कसरी पाइन्छ, उत्पादनलाई कहां राख्ने, संकलन र बिक्री केन्द्रहरु खोल्न पर्ने नपर्ने परे कहां कसरी खोल्ने, ढुवानी कसरी गर्ने, बिदेशी आयात निर्यात नीति के छ, त्यसले के कसरी सहयोग वा बाधाहरु दिन्छन्, बिचौलियाहरुको स्थिति के छ, ती सबैसंग संबन्धित सहयोग कसरी लिने, बाधाहरु कसरी फुकाउने, उपसमितिका सदस्यहरुबीच काम कसरी बांड्ने आदि वारे योजना बनाउनु बेश हुन्छ।
त्यस्तै गरी, आन्तरिक श्रोत संकलन र बांडफांड उपसमितिले आवश्यक जमीन/कारखाना/औजार/भवन/जनशक्ति/नगद वा रिण आदि कसरी जुटाउने, जन बैंक कसरी खडा गर्ने र उत्पादनका फललाई सहभागीहरु तथा उत्पादकहरुबीच कसरी बांड्ने आदि वारे योजना बनाउन राम्रो हुन्छ। बाहिरी साधनश्रोत जुटाउने उपसमितिले पालिकाहरुले के दिन सक्छन्, उपल्ला सरकारहरुले के दिन सक्छन्, संबिधान कानूनले के व्यवस्था गरेको छ, कुन बैंक वा वीमाबाट के श्रोत संभव छ आदि वारे योजना बनाउनु राम्रो हुन्छ।

यसैगरी, सामुदायिक सुधार उपसमितिहरुले गरीब समुदायको जीवनस्तरको दिगो, उत्तरोत्तर र अनुपातिक सुधार र उत्पादनका साधनश्रोतहरुमाथि न्यायोचित स्वामित्व वा भोगचलनसंग संबन्धित पक्षहरु समेतमा ध्यान दिनु पर्दछ। उत्पादनमुखी साझा आन्दोलनले कालो र ठूला धनले सेता र साना धनलाई निलेर निरंकुश नाफाखोरी र बिलासको वातावरण विरुध्द सेता र साना धनी तथा धनबिहीनहरुलाई मोर्चाबध्द गर्ने, दलाल पूंजीवादी विकास बिरुध्द समाजवादको पूर्वाधार निर्माण गर्ने, र संसदीय बाटोको बिरुध्द जनक्रान्तिको बाटोलाई प्रधानता दिने कार्यदिशा लिन्छ।  यी उपसमितिले बस्तीहरुमा वा उत्पादनमा सहभागीहरुको के कुलतले स्वास्थ्य बिगारेर उत्पादकत्व घटेको छ,  कस्ता गलत शिक्षाहरु भैरहेको छ, कस्तो शिक्षा आबश्यक छ, समुदायका मानिसहरु मेहनत गर्दागर्दै पनि के कुराले गर्दा प्रगति गर्न सकेका छैनन्, के कुराले प्रगति ढिलाएको छ, बस्तीका उत्पादनमा भाग लिने मेहनती तर गरीबहरुको जीवनलाई कसरी रमाइलो र मर्यादित बनाउने, के कस्ता अन्यायमा परेका छन्, कसले वा कुन निकायहरुले समस्या थपेका छन् कसले घटाएका छन्, कसले सुधार आन्दोलनमा बाधा हाल्न सक्छन् र कसले सहयोग गर्न सक्छन् ती सबैको स्थिति बुझेर बाधाहरु हटाउन सकेसम्म सो समुदायका सबैको साथ लिने र पाउनेगरी योजना बनाई अघि बढ्नु पर्छ।

३.४ यसले साझा उत्पादन अभियान मार्फत् सामन्तवाद, नोकरशाही तथा दलाल पुंजिवाद, र साम्राज्यवाद बिरोधी संयुक्त मोर्चा, जनसंघर्ष र जनसत्ताको प्रारुप (Microcosm) विकास गर्ने चरित्र लिनु पर्छ:

यो आन्दोलनले बिभिन्न भट्कावहरु झेल्नु पर्ने हुन्छ। कसैले बिशुध्द नाफामुखी उत्पादन केन्द्रित व्यवसाय तिर लैजान सक्छन् वा अहिले कतिपय सहकारीहरुले गरेका नाफाखोरी र ठगीको बाटो पनि लिन सक्छन्। समाजमा व्यवसाय गर्नेहरुको कमी छैन, हामीले गर्न खोजेको व्यवसाय मात्रै हैन; परिवर्तनको नमूना पनि हो, देशका समस्याहरुका समष्टिगत समाधानको एउटा सानो प्रारुप वा नमुना खडा गर्दै त्यसलाई देशव्यापी बनाउने हो। त्यसैले, हाम्रो ध्यान उत्पादन व्यवसाय भन्दा माथि हुनुपर्छ।अर्काथरिले, व्यवसायको चरित्र मारेर यसलाई सामूहिक जीवन (commune) आन्दोलन तिर लैजान खोज्छन्, त्यो पनि यसको ध्येय होइन। अहिलेको चरणमा नीजी सम्पत्ति बिहीन सामूहिक जीवन फाट्टफुट्ट भ्रुणको रुपमा देखिन वा टिक्न सक्छ,  यस्ता भ्रुणहरुको विकास गर्नु राम्रो हो तर त्यसलाई देशव्यापी नीतिको रुपमा विस्तार गर्न सकिदैन। अहिलेको नयां जनवादी परिवर्तनको चरणमा यो आन्दोलन उत्पादनसंग अभिन्न रुपले जोडिएर सानो नीजी सम्पत्तिवालाहरुको आत्मनिर्भरता वा सुरक्षाको लागि समस्त शोषणहरुको प्रतिरोध गर्ने व्यावहारिक (replicable) र सामूहिक अर्थ-राजनीतिक प्रयास हो जसले सम्पत्तिबिहीन मजदुर किसानलाई समेत सहभागी गराउंछ र यसलाई देशव्यापी बनाएर अधुरो जनवादी क्रान्ति सम्पन्न गर्न सहयोग गर्दछ र समाजवादी परिवर्तनको लागि पूर्वाधार वनाउंछ।यसले राष्ट्रिय पूजिपति वा धनी किसानहरुले चलाउने निजी उत्पादन व्यवसायलाई विस्थापित गर्दैन। यसले साझा उत्पादन अभियान मार्फत् सामन्तवाद, नोकरशाही तथा दलाल पुंजिवाद, र साम्राज्यवाद बिरोधी संयुक्त मोर्चा, जनसंघर्ष र जनसत्ताको प्रारुप विकास गरी विस्तार गर्दछ। 

यसले कालो र ठूला धनले सेता र साना धनलाई निलेर निरंकुश नाफाखोरी र बिलासको वातावरण विरुध्द ती सेता र साना सम्पत्ति भएका र नभएकाहरुलाई मोर्चाबध्द गर्ने, दलाल पूंजीवादी विकास बिरुध्द समाजवादको पूर्वाधार निर्माण गर्ने, र संसदीय बाटोको बिरुध्द जनक्रान्तिको बाटोलाई प्रधानता दिने कार्यदिशा लिन्छ ।यो अवधारणा क्रिषी उत्पादक समुदाय, औद्योगिक उत्पादक समुदाय, सेवा प्रदायक समुदाय, सुरक्षा प्रदायक समुदाय जस्ता सबै क्षेत्रमा परिबेश सुहाउदो ढंगले परिमार्जन गरी लागू गर्न सकिन्छ वा लागू गर्न  पर्छ।

३.५ व्यापक गरीब जनताको चौतर्फी समस्याहरुको संभवभएसम्म संबोधन गर्ने दायित्व भएकोले यसले जनकचहरी र राष्ट्रिय बहस आदि मार्फत् विभिन्न तहको (केन्द्रीय तहमा समेत) बैकल्पिक अनौपचारिक जनअदालत र अनौपचारिक जनसरकारको रुप र भूमिका ळिनु पर्छ।

४. केन्द्रीय स्तरका साझा आन्दोलनकारीहरुले ध्यान दिन पर्ने कुराः

४.१ केन्द्रीय स्तरका नेता (सहजकर्ता)हरुले पनि कुनै न कुनै प्रारंभिक उत्पादन समितिमा रहेर काम गर्नु पर्ने

४.२ यो उत्पादक इकाइहरुको राष्ट्रव्यापी संजाल वा संगठन बन्नुपर्छ। काम र नीति उद्देश्य समान भएका अन्य उत्पादक समितिहरु पनि यसमा मिसिन सक्छन्।यो आफ्नै बिधान र कार्यपध्दति भएको स्वतंत्र संगठन हुनेछ। 

४.३ यो व्यवहारमा ओर्लिएको अर्थ-राजनीतिक व्यवस्थाको परिवर्तनबाट मात्रै यसले सोंचेको लक्ष्य पूरा हुन्छ भन्ने मान्यता राख्ने साझा उत्पादन अभियान मार्फत् सामन्तवाद, नोकरशाही तथा दलाल पुंजिवाद, र साम्राज्यवाद बिरोधी संयुक्त मोर्चा, जनसंघर्ष र जनसत्ताको निर्माण गरी नयां जनवादी व्यवस्था हुदै वैज्ञानिक समाजवादसम्म पुग्ने संगठन भएकोले यो संगठनले यसको नामबाट सामन्तवाद, नोकरशाही तथा दलाल पुंजिवाद, र साम्राज्यवाद पक्षधर चरित्रको राज्यसत्ता मातहतको चुनावमा भाग लिदैन। यसले स्थानीय स्तरमा मात्र होइन, केन्द्रीय स्तरमा समेत बैकल्पिक अनौपचारिक जनसरकारको रुप र भूमिका ळिनु पर्छ।

४.४ यो संगठन आफै कम्युनिष्ट संगठन नभए पनि लक्ष्य र ध्येय मिलेका कारणले सच्चा कम्युनिष्टहरु प्रति यसको सद्भाव रहनेछ।यस अर्थमा यो कम्युनिष्टहरुले भन्ने गरेको जनवर्गहरुको संयुक्त मोर्चा हुनेछ।

४.५ यसका उत्पादन इकाइहरुले हाल नयां जनवादी चरणमा  स्वावलम्बी उत्पादन र सामुदायिक  इकाइको, नयां जनवादी क्रान्ति सम्पन्न भए पछि समाजवादी इकाइको र समाजवादी क्रान्ति सम्पन्न भएपछि स्वचालित सामुदायिक इकाइ (commune) को रुप लिन सक्ने हुनुपर्छ।

What Others Say

Latest Videos