Puspalal Vichar Prabardhan Kendra

नेता पुष्पलालका नाममा व्यापारः पुष्पलाल विचार प्रबर्ध्दन केन्द्रको स्थापना स्वागतोग्य
१. नेपाल कम्युनिष्ट पार्टीका प्रमुख संस्थापक नेता पुष्पलाल नेपाली अग्रगामी परिवर्तन अर्थात जनवादी क्रान्तिका इमान्दार पहरेदार हुन्। उनको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा २००६ सालमा निकालिएको पर्चा, त्यही सालमा जारी गरिएको नेकपाको घोषणापत्र, २०२५ सालको तेश्रो सम्मेलनले पारित गरेको ‘नयां जनवादी कार्यक्रम’ र २०२९ सालको चौथो सम्मेलनले पारित गरेको ‘राजनैतिक प्रतिवेदन’ नेपाली जनवादी  क्रान्तिका लागि राम्रो मार्क्सीय पथ प्रदर्शक दस्तावेज रहेका छन्। त्यसको लेखनमा उनको प्रमुख हात रहेकोले त्यसमा रहेका विचारहरु पुष्पलालका विचार पनि भन्न सकिन्छ। उनले आफ्नै जीवनकालमा ठूला जनआन्दोलनको आयोजन र नेत्रित्व गर्न नसके पनि उनले आफ्ना सिध्दान्तमा कहिल्यै संझौता गरेनन्, कहिल्यै प्रतिगामी सामु झुकेनन् र सधै जनगणतंत्र (Peoples’ Democracy) को पक्षमा अडीग रहे। जहांसम्म भारतमा बसेर नेपाली राजनीति गरे भन्ने आलोचना छ, त्यो नेपाली राजनीतिक इतिहासमा सबै राजनीतिक दलहरुको कमजोरीको रुपमा रहेको कुरा हो तथापि प्रतिबन्ध नभएका बेला नेपालमै बसेर संगठन नगरेका पनि हैनन्।पाकिस्तान फुटेर बांग्लादेश बन्ने क्रममा भारतले खेलेको कुटील चालको निन्दा गरेनन् भन्ने जुन आलोचना छ, त्यो मननीय भएपनि त्यसकै आधारमा उनका अरु वैचारिक योगदानहरुलाई ओझेल पार्न मिल्दैन।उनले नेपाली कांग्रेससंग संयुक्त मोर्चा गर्ने नीति लिए भनेर उनलाई गद्दार भन्ने जुन काम गरियो त्यो गलत भएछ भनेर त्यो आरोप लगाउनेहरुले भूलसुधार गरिसकेका छन्। उनले नेकांलाई निरंकुश राजतंत्रको बिरुध्द आएको हदसम्म कार्यगत एकता भनेका थिए, दीर्घकालीन एकता भनेका थिएनन्। उनले नेकां भित्रका सच्चा प्रजातंत्रवादी हिस्सालाई मात्र दीर्घकालीन जनवादी संयुक्त मोर्चामा ल्याउनु पर्ने कुरा गरेका थिए।
२. नेता पुष्पलालका विचार भन्नाले मुख्यगरीः
क. वैज्ञानिक समाजवादको पूर्वावस्थाको रुपमा नयां जनवादी व्यवस्था (New Democracy or Peoples’ Democracy) लाई तात्कालिक लक्ष्य मान्नु, वैज्ञानिक समाजवादलाई दीर्घकालीन लक्ष्य मान्नु र मार्क्सवाद, लेनिनवाद, माओका विचारलाई मार्गदर्शक सिध्दान्त मान्नु
ख. नयां जनवादी क्रान्ति सम्पन्न गर्न अपनाउनु पर्ने संघर्षको रुप र दिशा (क्रिषी क्रान्ति, क्रान्तिकारी भूमिसुधार, साझा उत्पादन आन्दोलन, आत्मनिर्भर अर्थतंत्र, साम्राज्यवाद बिरोधी संघर्ष, वर्ग संघर्ष, स्थानीय जनसंघर्ष/स्थानीय जनसत्ता मार्फत केन्द्रीय जनसत्ता, सिध्दान्तनिष्ठ पार्टी एकता, पार्टी एकता भन्दा जनवर्गहरुबीच अर्थात वर्गीय स्वार्थ मिल्नेहरुबीच संयुक्त मोर्चामा जोड, खुला तथा भूमिगत संघर्षको सन्तुलन, शहरी र ग्रामीण संघर्षको सन्तुलन, जनताको बल प्रयोग, दीर्घकालीन क्रिषी सशस्त्र संघर्ष, संसदवादको विरोध, बिसर्जनवादको बिरोध, अग्रगामी परिवर्तनको काममा बाधाहाल्ने आफू सामनेको शक्ति प्रधान दुश्मन हुने, प्रधान दुश्मन बिरुध्द सहायक दुश्मनहरुसंग कार्यगत एकता, बैदेशिक स्तरमा पनि वर्गीय स्वार्थ मिल्नेहरुबीच संबन्ध विस्तार, …) को नेपाली परिप्रेक्ष्यमा मार्गचित्र प्रस्तुत गर्नु
नेपाली उत्पीडित जनताको मु्क्ति र राष्ट्रिय स्वाधीनतामा आधारित उपरोक्त लक्ष्य र सो प्राप्त गर्ने बाटोको किटान नेता पुष्पलालका वैचारिक योगदान हो र यो दूरगामी महत्वको छ।
३. आज कतिपय आफूलाई कम्युनिष्ट भन्नेहरुले पुष्पलालका विचार छोडिरहेका छन्, उनका विचार बिरुध्द काम गरिरहेका छन्, र उनको नामको उपयोग गरेर व्यापार गरिरहेका छन्। नेता पुष्पलालले संसदवाद वा सॅसदीय चुनावी बाटोलाई कहिल्यै प्राथमिकता दिएनन्, शान्तिपूर्ण संक्रमणलाई कहिल्यै मुक्तिको प्रधान बाटो मानेनन्, सधैं दीर्घकालीन क्रिषी क्रान्ति र सशस्त्र क्रिषी क्रान्ति भनिरहे, क्रान्ति सधै जनतामा आधारित हुने र आयात नहुने कुरामा जोड दिए। त्यसैले उनले तात्कालीन रुसी बाटोको बिरोध गरेर चिनिया बाटो नेपालका लागि बढी उपयुक्त हुने बताए।आज पुष्पलालले संशोधनवादी भनेका नेताहरुको पुच्छर लाग्नेहरु आफूलाई पुष्पलालका अनुयायी बताइरहेका छन्, संसदीय चुनावी बाटो समातेकाहरु आफूलाई पुष्पलालवादी भनिरहेका छन्, वर्गसंघर्ष छोडेकाहरु आफूलाई पुष्पलालका भक्त बताउंछन्, बिदेशी शक्तिका पुच्छर लागेकाहरु पुष्पलालवादी बनेका छन्, जनयुध्द ती नक्कली पुष्पलालवादीहरुका लागि आतंकवाद बनेको छ, लूटतंत्र /अल्पतंत्र/ कुलीनतंत्र ती नक्कली पुष्पलालवादीहरुका लागि जनवाद भएको छ, प्रतिक्रियावादी राज्य व्यवस्थाका सहभागीहरु/संचालकहरु आफूलाई पुष्पलालवादी बताइरहेका छन्! निर्वाचन आयोगमा पार्टी दर्ता गरेर सम्पुर्ण पार्टी संयंत्र खुला राखेर राजधानीमा खुला कार्यालय राखेर स्वदेशी बिदेशी धनाढ्यहरुको आर्थिक सहयोगमा सम्पन्न शहरी जीवन बिताइरहेका छन्, गरीब बस्ती नटेक्ने र अझ त्यस्ता बस्तीमा डोजर चलाउनेहरु आफूलाई पुष्पलालवादी बताइरहेका छन्! उनिहरुको यो मुखुन्डो नच्यातिभएको छैन, उनिहरुले फिंजाएको भ्रम नचिरीकन नेपाली जनवादी क्रान्ति अघि बढ्दैन।
४. नेता पुष्पलालका विचारहरुलाई स्थापित गर्दा जनवादी क्रान्ति नजीकिने हुंदा उनका विचारहरुको प्रचार प्रसार गर्ने, त्यसवारे सभा गोष्ठि, प्रशिक्षण चलाउने, पार्टी संघसंस्थाहरुलाई पुष्पलालको लाइन लिए नलिएको हेक्का गराउने, पुष्पलालका विचारसंग संबन्धित क्रितिहरुको खोजी र प्रकाशन गर्ने काम गर्न आबश्यक भएको छ।
५. कमरेड पुष्पलालका विचार प्रबर्ध्दन गर्ने कामलाई संयोजन र व्यवस्थित गर्न एउटा पुष्पलाल विचार प्रबर्ध्दन केन्द्रको स्थापना हुन लागेकोमा खुशी लागेको छ। सबै राष्ट्रिय स्वाधीनता र सामाजिक न्याय प्रेमीहरुको यसमा साथ सहयोग रहनेछ भन्ने आशा गरौं।

 

What Others Say

Latest Videos