हाम्रो बारे

Home » हाम्रो बारे

नेपाल कम्युनिष्ट पार्टी नेपाली सर्वहारा वर्गको राजनीतिक पार्टी हो । यो विश्व सर्वहारा वर्ग र विश्व क्रान्तिको अभिन्न अङ्ग हो । यो पार्टी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनबाट निर्देशित छ । यसले मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दछ । यो पार्टीले अन्तर्राष्ट्रियवादलाई आत्मसात गर्दछ र सबै प्रकारका गैर–सर्वहारा दृष्टिकोण तथा अवसरवादका विरूद्ध वैचारिक एवं सैद्धान्तिक संघर्ष गर्दछ । यसले विश्वमा चलिरहेको साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवाद, एकाधिकार पुँजीवाद, भूमण्डलीकरण र सांस्कृतिक उत्पीडन विरूद्धको राष्ट्रिय मुक्ति आन्दोलन तथा जनवादी र समाजवादी क्रान्तिका महत्वपूर्ण अनुभवहरूलाई ग्रहण गर्दै मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारालाई सिर्जनात्मक रूपमा लागु गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक साम्यवाद स्थापना गर्नु हो । नेपाल अहिले पनि नवसामन्ती र नवऔपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ, पूँजीवादी व्यवस्था स्थापना भई सकेको छैन । अतः पार्टीको आधारभूत, न्यूनतम लक्ष्य नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । जनताको जनवादी अधिनायकत्व कायम गरी सर्वहारा वर्गको अधिनायकत्वमा आधारित वैज्ञानिक समाजवादको स्थापना गर्नु अधिकतम लक्ष्य हो ।

नयाँ जनवादी क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसान, सामन्तवाद, साम्राज्यवाद विरोधी उत्पीडित वर्ग, आदिवाशी, जनजाति, दलित, महिला, मधेसी, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत जाति समुदायका देशभक्त, जनवादी र न्यायप्रेमी जनताको संयुक्त जनआन्दोलन, जनसंघर्ष एवं जनविद्रोहद्वारा बल प्रयोगको समायोजन गर्दै सम्पन्न गर्न सकिने कुरामा पार्टी विश्वास गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पर्चा २००६ बैशाख १२ प्रकाशन गरेर नेपाल कम्युनिष्ट पार्टीको गर्भाधान भयो । बैशाख १८ गते पार्टीको संस्थापक महामन्त्री कमरेड पुष्पलाललाई चयन गर्दै, कमरेड निरञ्जन गोविन्द वैद्य, कमरेड नारायण विलास जोशी, कमरेड नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य भए । भाद्र ३० मा पार्टीको केन्द्रीय संगठन समिति, विधान र घोषणापत्र जारी गर्दै विधिवत् २००६ भाद्र ३० गते (१५ सेप्टेम्बर १९४९) लाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको घोषणा गरियो । संस्थापक महासचिव कमरेड पुष्पलालको नेतृत्व र उहाँले प्रतिपादन गर्नु भएको सिद्धान्त, नीति, र कार्यक्रमले नेपाल कम्युनिष्ट पार्टी र आन्दोलनलाई पथप्रदर्शन गरेको स्वीर्काछ ।

किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका लागि संगठित हुन पहिलो पर्चामा नै यसरी आह्वान गरिएको थियो:

किसानका बारेमा: जमिनको पूर्ण स्वामित्व किसानको हुनु पर्छ । कृषि फसलको सहि मुल्य किसानले पाउनु पर्छ । किसान र कृषिको गुणाेत्तर विकास हुनु पर्छ ।

मजदुरका बारेमा: जिउन योग्य मजदुरी पाउनु पर्छ । उनीहरूका सन्ततीले निशुल्क पढ्न पाउनु पर्छ ।

महिलाका बारे: महिलामाथि थोपरिएको दोहोरो दाशत्वको अन्त्यका लागि अगाडि बढ्नु पर्छ ।

विद्यार्थीका बारेमा: विद्यार्थीहरू वैजानिक शिक्षा नि:शुल्क पढ्नका लागि अगाडि बढ्नु पर्छ ।

साम्राज्यवादी, विस्तारवादी प्रभुत्ववाद, सामन्तवादी लगाएतका सबै प्रकारका शोषण उत्पीडनको अन्त्य गर्ने नेपालीको एकमात्र बाटो ” नयाँ जनवादी क्रान्ति”को बाटो भनिएको छ ।

पार्टी स्थापना भएको केहि समयपछि नै पार्टी भित्र मध्यमवर्गीय छद्म क्रान्तिकारी अवसरवाद देखा पर्‍यो । पार्टीले अवलम्बन गरेको वर्गसंघर्षको कार्यक्रमलाई संशोधन गर्न ल्याइएको कार्यक्रममा संशोधन किन ? भन्ने प्रस्तावबाट दक्षिणपन्थी अवसरवादको बिजारोपण हुन्छ । कमरेड पुष्पलाल र हिक्मतसिंह भण्डारीमात्र यसको विरुद्धमा रहनु भयो । यो तत्वले किसानमजदुर आन्दोलनलाई विसर्जनमा पुर्‍याउने, राजासमक्ष पार्टी स्वतन्त्रताकालागि विन्तीपत्र हाल्ने र राजाले नै यो देशको मुक्ति दिन्छ भन्दै राजतन्त्रमा प्रवेश गर्ने जस्ता कार्यले थिलथिलो बनेको कम्युनिष्ट आन्दोलन तेश्रो महाधिवेशनबाट निर्वाचित नेतृत्व पनि राष्ट्रिय जनवादको कार्यक्रम प्रस्तुत गर्दै दिशाविहीन बन्न पुग्यो । यसरी गतिहीन र दिशाविहीन बनेको कम्युनिष्ट आन्दोलनको पुनर्गठनले कमरेड पुष्पलालले २०२५ सालमा गोरखपुर सम्मेलन गरेर पुनर्गठन गर्नुभयो । यो नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुनर्गठन थियो जसले आफ्नो मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद, लेनिनवाद र माओत्से तुङ्ग विचारधारालाई अगाडि सार्दै नेपाली क्रान्तिको चरित्र नयाँ खाले हुने भन्दै नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादलाई व्यवस्थित गर्नुभयो । यसबाट रन्थनिएका प्रतिक्रियावादी तथा छद्म क्रान्तिकारीहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई उग्र वामपन्थी तथा उग्र दक्षिपन्थी अतिवादको शिकार बनाउँदै नेपाली जनताको मुक्तिको आकांक्षालाई दिशाविहीन बनाउने, त्याग र बलिदानलाई व्यर्थ बनाउने काम गर्‍यो, गरिराख्यो । ती दुवैथरी अतिवादका विरूद्ध सिद्धान्तनिष्ठ संघर्षलाई समृद्ध गर्दै २०६९ सालमा नेपाल कम्युनिष्ट पार्टीको दोश्रो पुनर्गठन भयो । चौतर्फि आक्रमणको चपेटामा फसाईएको कम्युनिष्ट आन्दोलनलाई पुन: नयाँ जनवादी क्रान्तिको दिशा दिने, अतिवादीहरुबाट फिजाइएका भ्रमहरुलाई चिर्दै भत्काउदै एउटा स्वाधीन कम्युनिष्ट पार्टीको निर्माण अभियानको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको छ ।

नेपाल नयाँ जनवादी गणतन्त्र स्थापनाको चरणमा आइपुगेको छ । समाजमा रहेका राष्ट्रिय स्वाधीनताका, जनतन्त्रका र जनजीविकाका समस्याहरू वर्तमान राज्य प्रणालीबाट समाधान हुँदैन । स्थापनाकाल देखिका मुद्दाहरू समाधान भएका छैनन् । बरू यसलाई थप पेचिलो बनाउने काम भएको छ । यो कार्यमा कम्युनिष्ट नामधारीहरू नै उग्र र दक्षिणपन्थी कोणबाट लागिरहेका छन् । यस्तो अवस्थामा २०६९ मा नेपाल कम्युनिष्ट पार्टी पुन: पुनर्गठित भई नेपाली समाजको मुक्ति आन्दोलनलाई अगाडि बढाइ रहेको छ ।

पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा हो । न्यूनतम कार्यक्रम नयाँ जनवाद हो भने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद वैज्ञानिक साम्यवाद हो । यसको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित संगठनात्मक प्रणाली हो । आत्मालोचना आलोचना गल्ती सच्याउने जीवन पद्धति हो । सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी पार्टी परिचालनको मुख्य आधार हो ।

दर्शन: जीवन र जगतलाई हेर्ने बुझ्ने र बदल्ने दार्शनिक चिन्तन पद्धति द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित दृष्टिकोण हो । यो अभियानको आँखा हो ।
उद्देश्य: मानव समाजमा मान्छेद्वारा मान्छेमाथि गरिने सवै किसिमका विभेद र शोषणको अन्त्य गर्ने । सामाजिक न्याय, स्वतन्त्रता, मानवता, भातृत्व र सदाचारयुक्त वैज्ञानिक जीवन संस्कृतिमा आधारित समतामुलक समाजको निर्माण गर्ने ।

तत्कालिक कार्यनीति: जनसंघर्ष–जनविद्रोह–बल प्रयोगको समायोजन मार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने ।
दीर्घकालिन कार्यनीति: सामन्तवाद तथा पुँजीवादका सम्पूर्ण अवशेषहरूको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशामा अगाडि बढ्ने ।
नेपाली समाजको वर्तमान चरित्र: नेपाली समाजको वर्तमान चरित्र सामन्ती दलाल नोकरशाही पुँजीवादी हो ।

अन्तरविरोध: सामन्ती दलाल नोकरशाही पुँजीवादी राज्यव्यवस्थासंग नेपाली जनताको प्रधान अन्तरविरोध रहेको छ भने भारतीय सत्ताको विस्तारवादी प्रभुत्ववाद र सबैखाले साम्राज्यवादी प्रवृत्तिसँग नेपालको र नेपाली जनताको प्रधान अन्तरविरोध रहेको छ । यस्तो अन्तरविरोधको समाधान नेपालमा गरिने जनवादी क्रान्तिले मात्र गर्न सक्दछ ।