हाम्रो बारेमा
नेपाल कम्युनिष्ट पार्टीले लिएको क्रान्तिकारी मोड र यो लगायत सर्वसाधारण समेतलाई पश्चिम युरोपीय जीवनस्तर दिलाउने प्रयासमा सघाउन आह्वानः
नेपालको कम्युनिष्ट पार्टी विगत ७५ बर्ष देखि घिस्रिएर हिंडिरहेको र यस्तो ढीलो गतिबाट गरीव जनताको ठूलो वर्वादी हुने हुंदा यो गतिलाई तिब्रता दिन यो पार्टीले आफूलाई रुपान्तरण गरेर अघि बढ्ने अठोट गरेको छ।सो अठोट अनुसार यो पार्टीले निम्न अनुसारका काम गर्ने निधो गरेको छः
१. राज्यसत्तामा भएका कम्युनिष्टहरुले देशघात, जनघात र गरीवमारा कामहरु गरेर सबैभन्दा अग्रगामी सोंच लिने कम्युनिष्टहरुले खेप्न परेको बदनामी र विसर्जनलाई सच्याउन मुखले मात्र हैन कामले पनि देशमुखी, जनमुखी र गरीवमुखी देखिने र निराश कम्युनिष्टहरुलाई सैध्दान्तिक साथै संगठनात्मक रुपले पुनर्गठित गर्ने
२. प्रतिगामी वा शोषक वर्गको सत्तालाई सुरक्षित राख्ने अल्पमतीय चुनाव पध्दतिको बिरोध गर्ने, पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने, यस्ता अल्पमतीय चुनावबाट गरीव वर्गको मुक्ति मिल्छ भन्ने गलत बाटो (अर्थात्, संसदवाद) त्यागी गरीव जनताको सशक्त आन्दोलनबाट गरीव वर्गलाई समाज वा देशका श्रोत साधनहरुमा अरु वर्ग सरह स्थायी हक र व्यावहारिक पहुंच पाउने स्थितिमा पुर्याउने निर्णय गर्न सक्ने ठाउं र क्षमतामा पुर्याउने
३. वर्तमान भ्रष्टाचार, अराजकता, बिक्रिति, बदमासी, लूटतंत्र, राज्यकोषको दोहन र निजीकरण, आर्थिक/राजनीतिक/सामाजिक विभेदहरुले ल्याएको गरीवि र बेरोजगारी अन्त्य गर्न जनतालाई बुल्डोजर चलाउन सघाउने र सर्वसाधारण समेतलाई पश्चिम युरोपको पूंजीवादी लोकतंत्र (Bourgeois Democracy) लाई जनवादी गणतंत्र (People’s Democracy) मा ढाल्दै त्यसले हासिल गरेको जीवनस्तर दिलाउने तात्कालिक लक्ष्य बनाउनका साथै त्यसको गरीव बिरोधी चरित्र (ठूलो पूंजीले सानो पूंजी वा श्रम माथि एकाधिकार जमाउने अर्थ-राजनीतिक चरित्र ) प्रणालिको अन्त्य गर्दै मार्क्सवादले भनेजस्तो श्रमिक वर्गको अग्राधिकार हुने वैज्ञानिक समाजवाद स्थापना गर्ने र त्यसमार्फत शोषणविहीन एवं शोषणमुखी राज्यसत्ताविहीन स्वचालित, सम्रिध्द र सुसंस्क्रित समुदायहरुको सिर्जनाको लागि वातावरण बनाउने दीर्घकालिक लक्ष्य लिदै अघि बढ्ने
४. सो कार्यको लागि आबश्यक पर्ने संयुक्त मोर्चाको लागि पार्टीगत एकता मात्र हैन देशभक्त तथा गरीवपक्षीय समूह/संगठन तथा जनवर्गका संगठनहरुलाई समेत एकताबध्द गर्ने। यसको लागि सुरुमा ठाउं हेरी साना व्यवसायी, बौध्दिक श्रमिक, साना किसान, भूमिहीन किसान, सुकुम्बासी, संगठित साथै असंगठित दुबै क्षेत्रका मजदुर समेतको साझा उत्पादन जनसमितिहरु खडा गर्दै उनिहरुलाई कमरेड पुष्पलाल नेत्रित्वको पार्टीले लिएको दीर्घकालिन सशस्त्र क्रिषी क्रान्तिको नीति कार्यान्वयन गर्न उनिहरुद्वारा राज्यसंग सहयोग र हकको लागि संघर्ष गर्ने, बैदेशिक आयातलाई चाहिएको मात्रामा नियंत्रण गर्न पहल गर्ने, आफ्नै स्थानीय बजार संयंत्र निर्माण गर्ने (संकलन केन्द्र, गोदाम, ढुवानी, बिक्री केन्द्र, उचित मूल्य, …सहित) जनबैंकहरु खडा गर्ने, आदि गरेर स्वावलम्बी अर्थतंत्रको विकास, जनकचहरीहरु संचालन मार्फत् अनौपचारिक जनअदालतहरुको विकास, जनचेतना बढाउने कामहरु, गरीव वर्गको मौलिक अधिकार बहालीको लागि संघर्ष, जनसुरक्षा तथा अन्याय अत्याचारका बिरुध्द जनप्रतिरोध संघर्ष हुंदै जनसत्ताहरुको विकासमा सक्रिय गराउने र त्यसलाई शहरी र केन्द्रीय जनविद्रोहसंग जोड्न प्रयास गर्ने
५. उपरोक्त कामहरु गर्न सक्षम पार्टी बनाउन पार्टीलाई सर्वसाधारण जनताप्रति समर्पित र त्यागीहरुको जमात बनाउने (यसको लागि छीटै पार्टीमा आवधिक, खुला र बहुमतीय नेत्रित्व चयन पध्दति लागू गर्ने, नेत्रित्वको कार्यावधि छोटो र चक्रिय बनाउने, मापदण्डमा आधारित पदहरुलाई लाभको नभै जिम्मेवारीको रुपमा लिने, जति उपल्लो पद उति थप जिम्मेवारी रहने, र निजीसम्पत्तिलाई क्रमशः पार्टीकरण गर्दै जाने क्रममा सुरुमा १% सम्पत्ति पार्टीकरण गर्नु पर्ने
६. पार्टीलाई संसदीय भड्कावहरुबाट र राज्यसत्ताको दमनबाट जोगाउन निकट भबिष्यमै भूमिगत प्रणालि लागू गर्ने, पार्टीले गतिबिधिहरु देशभक्त तथा गरीवपक्षीय समूह/संगठन तथा जनवर्गका संगठनहरु मार्फत संचालन गर्ने। पार्टीका जानकारीहरु पाउने विभिन्न माध्यमहरु मध्ये पार्टीको पुरानै वेबसाइट (communistpartyofnepal.com) र सम्पर्क गर्न पार्टाको पुरानै इमेल (cpninfo2006@gmail.com) पनि प्रयोग गर्न सकिनेछ।
७. छीटै हुने भेलाबाट नयां संयोजक नचुनियुन्जेलका लागि पार्टीले चिरन्जीवी लामालाई पार्टीको बाह्य सम्पर्कको लागि अस्थायी सम्पर्क अधिकारी तोकिएको छ।
पार्टी भित्र र बाहिरका अग्रगामी र न्यायप्रेमी दाजुभाइ दिदी बहिनीहरुलाई राय सुझावहरु दिन हुन र यो न्यायिक आन्दोलनलाई सहयोग पुर्याउन आह्वान गर्दछौं।
- चिरन्जीवी लामा
पार्टी सम्पर्क अधिकारी